Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

भाद्र कृष्ण अष्टमी : भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइयो - सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूद्वारा पाटनस्थित कृष्ण मन्दिरको दर्शन

2076-05-06

2076-05-06


सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष श्रीकृष्णाष्टमीका दिन यस मन्दिरको राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परानुसार शुक्रबार दिउँसो उहाँ पाटन पुग्नुभएको हो ।
 
सम्माननीय राष्ट्रपति भण्डारीज्यूलाई मन्दिरका मूल पूजारी प्रतापधर शर्माले प्रसाद तथा टीका ग्रहण गराएका थिए । उहाँलाई मन्दिरका नौ जना पूजारीले हातमा पाती, फलफूल, सगुन, माला र खादा अर्पण गरेका थिए । उहाँले झण्डै १० मिनेट मन्दिरमा पूजाआजा गर्नुभएको थियो । उहाँलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, ललितपुरका सांसद र प्रदेशसभाका सदस्य, वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले स्वागत गरेका थिए । उहाँले पाटन दरबार क्षेत्रमा रहेका स्मारकहरुको अवलोकन गर्दै पुनःनिर्माणका बारेमा जानकारी लिनुभयो ।
 
मल्लकालीन सो मन्दिरमा पहिले राजाले दर्शन गर्दै आएका थिए । गणतन्त्रको स्थापनापछि राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिले दर्शन गर्दै आएका छन्  । राति १ बजे पाटनमा भगवान् श्रीकृष्णको नित्य पूजा समाप्त भएपछि भक्तजनलाई दर्शन गर्न मूल ढोका खुल्ला गरिएको मङ्गल टोल सुधार सङ्घका सचिव रविदर्शन धारीले बताए । मन्दिरमा गएराति १ बजेदेखि भगवान श्रीकष्णको पूजा आराधना गर्न आउने श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो । यहाँ काठमाडौँ उपत्यकासँगै उपत्यका आसपासका जिल्लाबाट समेत दर्शनार्थी आउने गरेका छन् । उनले भने, “रातिदेखि नै दर्शनार्थी आउने हुनाले हामीले पनि सोहीअनुसार व्यवस्थापन गर्दै आएका छौँ ।”

गएराति ११ बजेदेखि कृष्णको दर्शन गर्न लाम बस्न आउने हुँदा भक्तजनलाई ध्यानमा राखी पाटनमा सुरक्षा व्यवस्था कडा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए । उनले भने, “मन्दिरमा आउने विशिष्ट व्यक्तिको सुरक्षाका लागि यस क्षेत्रकोे सुरक्षा व्यवस्था कडा गरेका छौँ ।”

कृष्ण मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी बढीरहेको मन्दिरका मूल पूजारी शर्माले बताए । विसं. २०७२ को भूकम्पका कारण सो मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यसपछि तीन वर्षसम्म मन्दिरको माथिल्लो तलामा दर्शनार्थीलाई जान दिइएको थिएन । गत वर्षबाट मात्रै मन्दिरको माथिल्लो तला खुल्ला गरिएको थियो । उनले भने, “सङ्ख्यामा यति नै बढे भन्न नसकिने भए पनि यहाँको घुइँचो हेर्दा दर्शन गर्न आउने बढीरहेका छन् ।”

सत्रौँ शताब्दीमा कृष्णभक्त राजाका रुपमा चिनिएका राजा सिद्धिनरसिंह मल्लले सो मन्दिर निर्माण गराएका थिए । उनले कृष्णका लीलामा आधारित कात्तिक नाचको सञ्चालन गराएको र कृष्ण मन्दिर निर्माण गराएको पाइन्छ । काठमाडौँ उपत्यका संरक्षण कोष (केभीपीटी) ले दुई वर्ष पहिले मन्दिरको पुनःनिर्माण सम्पन्न गरेको थियो । मन्दिरको पुनःनिर्माणप्रति सबैले देखाएको चासोका कारण पाटनका अरु स्मारकको तुलनामा सो मन्दिरको पहिले पुनःनिर्माण सम्पन्न गरिएको हो ।
 
पाटन दरबार क्षेत्रमा रहेको सो मन्दिरका कारण लगनखेल, मङ्गलबजार, गाबहाल, सुन्धारालगायतका स्थानमा बिहानैदेखि दर्शनार्थीको भीड देखिन्थ्यो । बजारका सबैतिर दशनार्थीहरु झुण्डझुण्डमा कृष्णका लीलामा आधारित गीत र भजनमा रमाएका देखिन्थे । भगवान श्रीकृष्णको प्रिय सङ्गीत बाँसुरी र केशमा सिउरिने वस्तु मयूरको प्वाँख भएकाले यस क्षेत्रमा बाँसुरी र प्वाँखको व्यापार जतासुकै भइरहेको देखिन्छ ।  

आज कै दिन स–साना बालबालिकालाई पहेँला कपडा र शिरमा प्वाँख लगाई हातमा बाँसुरी दिएर कृष्ण बनाइएर पूजा गर्ने गरिन्छ । कृष्णलाई खान दहि र मख्खन अत्यन्त मन पर्ने बस्तु भएकाले ब्रतालुले चढाउने गर्छन् । श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गको स्मरणस्वरुप भगवानको प्रेम उत्सव अर्थात् झुला झुलाउने गरिन्छ ।

मन्दिर परिसरमा घुइँचो

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकष्णको पूजा आराधना गरी मनाइएको छ । द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा आजको दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
 
ललितपुरको मङ्गलबजारमा रहेको कृष्ण मन्दिरमा रातिदेखि भगवान श्रीकष्णको पूजा आराधना गर्न आउने श्रद्धालु भक्तजनको भिड लागेको थियो । भगवान श्रीकृष्णको नित्य पूजा समाप्त भएपछि भक्तजनलाई दर्शन गर्न दिएको मङ्गल टोल सुधार सङ्घका सचिव रविदर्शन धारीले बताए । उनले भने, “कृष्ण मन्दिरमा सहजतापूर्वक भक्तजनले दर्शन गर्न पाउन् भनी राम्रो व्यवस्था मिलाएका छौँ ।”

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको मन्दिर पाटनको अवला देशभरका बिभिन्न स्थानमा रहेका छन् । आज देशभरका कृष्ण मन्दिरमा हिन्दूधर्मावलम्बीको ठूलो घुइँचो लागिरहेको छ । गएरातिदेखि कृष्णको दर्शन गर्न लाम बस्न आउने भक्तजनलाई ध्यानमा राखी पाटनमा सुरक्षा व्यवस्था कडा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका उपरीक्षक दुर्गा सिंहले जानकारी दिए ।

द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न बासुदेव र देवकीको आठौँ सन्तानका रुपमा आजकै दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ । आजको दिनमा विशेष गरी महिलाले भगवान कृष्णको ब्रत बसी गएराति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर भजन कीर्तन गर्ने गर्दछन् ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न सत्यका पालक पाण्डवहरु मध्येका भाइ अर्जुनका सारथी एवं उपदेश दिने क्रममा कृष्णको मुखारविन्दुबाट व्यक्त ‘श्रीमद्भागवतगीता’लाई हिन्दूहरुको पवित्र ग्रन्थ मानिन्छ । आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ भने रातमा भगवान् कृष्णको जन्म भएकाले मोहरात्रि भनिन्छ । कृष्णको पूजा आरधना गर्नाले पाप नष्ट भएर मोक्ष प्राप्त हुने विश्वास हिन्दूलगायत शैव र बौद्ध धर्मावलम्बीको रहेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरवार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिर मुलुकभरका भक्तजनको अत्यधिक घुइँचो लाग्ने एक महत्पूर्ण मन्दिर हो । २१ गजुर भएको सो मन्दिर शिखर शैलीको उत्कृष्ट नमूनाका रुपमा ढुङ्गै–ढुङ्गाले बनेको छ । मन्दिर दर्शन गर्न आउने भक्तजनको व्यवस्थापनका लागि मङ्गल टोल सुधार सङ्घले करीब ६०० सदस्य, ज्यापू समाजले पिउने पानी र विभिन्न सङ्घ सङ्गठनले स्वयंसेवक खटाएका छन् । यसैगरी नेपाल प्रहरी, स्थानीय बासिन्दा, ट्राफिक प्रहरी, नेपाल स्काउट, रेडक्रस तथा स्थानीय क्लबहरुले भक्तजनलाई व्यवस्थित दर्शन गराएका थिए ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2079-04-19 16:10:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ललितपुर

Powered By: ProActive Developers